पु.समाचार

बास्केटबलको उपाधि मल्पीलाई

काठमाडौँ । तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि मल्पी इन्स्टिच्युट ‘ए’ ले हात पारेको छ ।

मण्डिखाटारमा आज भएको फाइनल खेलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

मल्पीको जीतमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १० अंकको योगदान दिए भने आकाश कर्मा गुरुङ र निकेश शाहले १–१ अंक थपे । काष्ठमण्डपका सिर्जन डंगोलले ४ तथा युनिश महर्जनले २ स्कोर जोडे ।

आजै भएको सेमिफाइनलमा मल्पी ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ तथा काष्ठमण्डपले गत दुवै संस्करणको विजेता साइपाल एकेडेमीलाई १०–९ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । फाइनलका सर्वाधिक स्कोरकर्ता प्रसङ्ग ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र काष्ठमण्डपका निर्देशक एवं प्राचार्य डा शिवा थापाले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । तीनदिने उक्त प्रतियोगितामा आठ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।