पु.समाचार

अरनिको राजमार्ग मर्मत नहुँदा सवारी चालक र स्थानीयलाई सास्ती

धुलिखेल । अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् ।

सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय बासिन्दाले समस्या ब्यहोर्नु परेको हो ।

स्थानीय बासिन्दा राधा ठकुरीले सडक बेलैमा मर्मत कार्य सम्पन्न नगर्दा यहाँ चलेको सवारीसाधनको धुलोबाट हैरानी ब्यहोर्नु परेको बताए । “सडक कहिल्यै बनाउँदैनन्, लुगा धोएर सुकायो भने सबै धुलोले छपक्कै ढाकिदिन्छ ।”

समयमा नै काम सम्पन्न नहुँदा आफूहरूले निकै समस्या ब्यहोरिरहेको मोटरसाइकल चालक रेशम लामाले बताए । उनले सरकार र ठेकेदारबीच मिलेर छिट्टै काम सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै आफूहरू सोही बाटो हिँड्दा बर्सादी ओढेर हिँड्नु परेको गुनासो गरे ।

अर्का सवारी चालक सिन्धुपाल्चोक मेलम्चीका इन्द्रबहादुर थापाले सोही बाटो भएर कैयौँ बिरामी ओसारपसार गर्नुपर्नेदेखि गाउँगाउँबाट सोही बाटो आवतजावत गर्नुपर्ने भएकाले बाटो समयमा नै नबन्नु दुःखको कुरा भएको बताए । उनले सरकारको लापरबाही भएको पाइएको उल्लेख गर्दै स्थानीय बासिन्दाले जागरुक भएर आवाज उठाउनुपर्ने बताए ।

सो सडक खण्डअन्तर्गत धुलिखेलदेखि पाँचखालसम्मको १४ किलोमिटर बाटो मर्मतको लागि द कञ्चनजंगा कन्स्ट्रक्सन र मोतिदान जेबी कन्स्ट्रक्सनसँग संयुक्तरुपमा गत २०७३ जेठ २८ गते सम्झौता भएको थियो । जसमा खाबादेखि पाँचखालसम्मको ११ किलोमिटर सडक मर्मत भइसकेको भए पनि खाबादेखि धुलिखेलसम्मका सडक भने अझै काम सम्पन्न नगरिदिँदा यात्रु तथा स्थानीय बासिन्दाले समस्या खेप्नुपरेको हो ।

भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले धुलिखेलदेखि खाबासम्मको सडक मर्मतका लागि पुनःनिर्माण प्राधिकरणले समयमा नै उपलब्ध गराउनु पर्ने रकम निकासा नगरिदिँदा ठेकेदार कम्पनीले काम नगरिदिएको बताए।
सो राजमार्ग भएर दैनिक पाँच हजारको हाराहारीमा सवारीसाधन चल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । सोही राजमार्ग भएर दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लामा सवारीसाधन चल्ने गरेको छ ।