राजनीति

यस्तो छ, एमाले-माओबादी मिलनपछि बन्ने पार्टीको नयाँ शिद्धान्त बिषयको बिकासक्रम !

काठमाडौँ । पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन सोमबारदेखि शुरु गर्ने भएका छन् ।

एमाले नेता माधवकुमार नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माणसम्बन्धी कार्यदलको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सो निर्णय गरेको हो । दुवै पार्टीको सैद्धान्तिक तथा वैचारिक पक्षलाई मिलाएर एकीकृत दस्तावेज बनाउन चार सदस्यीय उपसमितिसमेत गठन गरिएको माओवादी केन्द्रका प्रवक्ता एवं कार्यदल सदस्य पम्फा भुसालले जानकारी दिए । सो उपसमितिमा एमाले उपाध्यक्ष भीमबहादुर रावल र सचिव प्रदीपकुमार ज्ञवाली तथा माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सदस्य छन् ।

एमालेले आत्मसात् गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अंगीकार गर्दै आएको ‘माओवाद’ र एक्काइसौँ शताब्दीको जनवाद’का साझा र आधारभूत विषयका आधारमा सैद्धान्तिक प्रतिवेदन तयार पारिनेछ । पार्टी एकताका लागि तयार पारिएको सातबुँदे सहमतिपत्रमा माक्र्सवाद र लेनिनवादलाई अंगीकार गर्ने विषय समेटिएकाले पनि कार्यदललाई सैद्धान्तिक प्रतिवेदन तयार पार्न सहज हुने बताइएको छ ।

आजको बैठकमा दुवै पार्टीको राजनीतिक दस्तावेज प्रस्तुत गरिएको बताउँदै प्रवक्ता भुसालले अन्तर्राष्ट्रिय र नेपालका कम्युनिष्ट आन्दोलन, भावी कार्ययोजना तथा समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाका बारेमा केन्द्रित रहेर प्रतिवेदन तयार पारिने जानकारी दिईन् ।

एमाले सचिव ज्ञवालीका अनुसार दुवै पार्टीको राजनीतिक दस्तावेज अध्ययन तथा संयोजन गरेर संयुक्त प्रतिवेदन तयार पारिनेछ । उनका अनुसार दुवै पार्टीको राजनीतिक प्रतिवेदन अध्ययन गरेर सोमबारदेखि दस्तावेज लेखन शुरु गरिने छ । दुवै पार्टीका सबै दस्तावेजलाई एकीकृत गरेर अध्ययन गर्ने र साझा धारणा बनाउने योजनामा कार्यदल छ । यही फागुन ७ गते दुई पार्टीले पार्टी एकताको सातबुँदे आधारपत्रमा हस्ताक्षर गरेका थिए । आधारपत्रमा हस्ताक्षरसँगै सैद्धान्तिक कार्यदल र विधान तथा संगठनात्मक कार्यदलसमेत गठन गरिएको थियो ।

सैद्धान्तिक प्रतिवेदन तयार पार्ने कार्यदलमा एमाले नेता नेपाल, उपाध्यक्ष रावल, सचिव ज्ञवाली र नेता सुवास नेम्वाङ र रघुजी पन्त तथा माओवादी केन्द्रका तर्फबाट नेता श्रेष्ठ, देवप्रसाद गुरुङ, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल र प्रवक्ता भुसाल सदस्य छन् ।

यसैगरी एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक कार्यदलले संविधानप्रदत्त नेपालको संघीय संरचनानुसार नै पार्टीको संरचना तयार पार्ने तयारी गरेको छ । कार्यदलले केन्द्रमा स्थायी समिति वा पदाधिकारी, पोलिटब्यूरो, केन्द्रीय समिति, प्रदेश समिति, गाउँ वा नगर समिति र वडा समिति रहने प्रस्ताव गरेको छ । शनिबारदेखि नै सो कार्यदलले काम शुरु गरिसकेको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।

सो कार्यदलमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, नेता सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र रघुजी महासेठ तथा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव सदस्य छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा यही फागुन २५ गतेभित्र दुवै कार्यदललाई आफ्नो जिम्मामा परेको काम सक्न संयुक्त रुपमा नै निर्देशन दिएका छन् । दुवै कार्यदलले तोकिएको अवधिभित्रै काम सकेर प्रतिवेदन बुझाउने र यही फागुनको अन्तिम साताभित्रै एकीकृत पार्टीको घोषणा गर्ने तयारी गरिएको छ ।

सकेसम्म राष्ट्रपतिको निर्वाचनअगावै एकीकृत पार्टी घोषणा गर्ने तयारीमा दुई दल लागेका छन् । निर्वाचन आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ ।