खेलकुद

प्रोलिफिक र विजेश्वरी विजयी

काठमाडौँ । तेस्रो महर्षि म्याराथन दौड प्रतियोगिताको उपाधि प्रोलिफिक विद्यालय र विजेश्वरी सैनिक विद्यालयले प्राप्त गरेका छन् ।

महर्षि विद्यालय सामाखुशीको आयोजनामा आज भएको पाँच किलोमिटर दौडमा पुरुषतर्फ प्रोलिफिक विद्यालयका निशान खड्का र महिलातर्फ विजेश्वरी सैनिक विद्यालयका सुनिता श्रेष्ठले प्राप्त गरेका हुन् । खड्काले १६ मिनेट २४ सेकेण्डमा र श्रेष्ठले १९ मिनेट ५० सेकेण्डमा ५० किलोमिटर दूरी पार गरेका थिए ।

यस्तै पुरुषतर्फ न्यूटन विद्यालयका रिचार्ड तामाङ र न्यू हिमालयन माध्यामिक विद्यालयका संगम विष्ट तथा महिलातर्फ विजेश्वरी स्वेच्छा बलामीमगर र विजेश्वरीकै कुशलता तामाङ द्वितीय भए । प्रतियोगितामा उपत्यकाका ४० विद्यालयका २६० जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः रु सात हजार र पाँच हजार प्राप्त गरे ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र वितरण गर्दै काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले विद्यालयले व्यवहारिक ज्ञानका अतिरिक्त खेलकुदको माध्यामबाट रचनात्मक कार्य गरेर विद्यार्थीको क्षमता अभिवृद्धिमा महत्व भूमिका खेलेको बताए।

विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले महर्षि विद्यालयले सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान प्रदान गर्दै आएको बताउँदै आगामी दिनमा अझ यस्ता क्रियाकलापलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।