पर्यटन/संस्कृति

वीरेठाँटीमा फागुपूर्णिमा मेला

पोखरा । वीरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका वडा नं ८ कास्कीको आयोजनामा यही फागुन १७ देखि २१ गतेसम्म फागुपूर्णिमा मेला– २०७४ हुने भएको छ ।

खेलकुदको पहुँचबाट बञ्चित युवालाई विभिन्न खेलकुदमा संलग्न गराई अन्तरनिहित कला तथा क्षमतालाई प्रस्फुटन गराउने तथा तिनलाई सांस्कृतिक संरक्षण र प्रवद्र्धनमा जागरुक बनाउने मेलाको लक्ष्य रहेको वीरेठाँटी युवा परिवारका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले बताए ।

वीरेठाँटी माविको प्राङ्गणमा चल्ने मेलामा पुरुष र महिला भलिबल, छेलो हान्ने, डोरी तान्नेजस्ता प्रतियोगिता राखिएको प्रतियोगिता संयोजक टेकबहादुर गुरुङले जानकारी दिनुभयो । पुरुष भलिबल प्रदेश नं ४ मा रहेका गाउँपालिकाअन्तर्गत वडास्तरीय तथा महिला भलिबल क्लबस्तरीय हुने छ । पुरुष भलिबलतर्फ प्रथम हुनेलाई रु एक लाख १११, दोस्रो हुनेलाई रु ५० हजार ५०५ र तेस्रो हुनेलाई रु २० हजार २२० सहित प्रमाणपत्र, पदक र शिल्ड प्रदान गरिनेछ ।

त्यस्तै महिला भलिबलतर्फ प्रथम हुनेलाई रु २१ हजार १२१, दोस्रो हुनेलाई रु ११ हजार १११ सहित प्रमाणपत्र, पदक र शिल्ड प्रदान गरिनेछ । छेलो हान्नेतर्फ प्रथम र द्वितीयलाई फेटा, भाँग्रा र प्रमाणपत्र तथा डोरी तान्ने प्रतियोगितामा प्रथम हुनेलाई जंगी भालेसहित प्रमाणपत्र र दोस्रो हुनेलाई भालेसहित प्रमाणपत्र प्रदान गरिने युवा परिवारका सचिव अतित गुरुङले जानकारी दिए ।