आर्थिक

एडिबीको परियोजना करार र भुक्तानीमा प्रगति

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा मुलुकमा सञ्चालित केही परियोजना द्रुत गतिमा कार्यान्वयन भएका पाइएको छ ।

केही परियोजना करारमा उल्लेख्य प्रगति भएको छ भने भुक्तानी दर पनि उच्च मात्रामा भएको छ ।

एडिबीको सहयोगमा सञ्चालन हुने विकास–निर्माणका आयोजनाको करार सम्झौता ४३ करोड ५९ लाख अमेरिकी डलर पुगेको तथा काम सम्पन्न भई २९ करोड अमेरिकी डलर भुक्तानी भइसकेको छ ।

गतवर्ष उक्त बैंकले सम्पादन गरेका कामको लेखाजोखा गर्न आज यहाँ भएको नेपाल सरकारका उच्च अधिकारी, परियोजना कार्यान्वयनमा संलग्न निकाय र बैंकका पदाधिकारीहरुको वार्षिक समीक्षा बैठकमा उक्त जानकारी दिइएको हो ।

त्यस अवसरमा उत्कृष्ट परियोजना व्यवस्थापन, वातावरणीय तथा सामाजिक सुरक्षाका दृष्टिले उत्कृष्ट काम गर्ने परियोजना र ठेकेदार कम्पनीलाई पुरस्कृत गरिएको थियो ।

बैठकका अध्यक्ष अर्थसचिव शंकरप्रसाद अधिकारीले कुनै पनि परियोजनालाई रकम निकासामा विलम्ब हुन नदिने तथा लचिलो भएर सरकार प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दै यथार्थको धरातलमा उभिएर परियोजनाको बजेट प्रक्षेपण गर्न सम्बद्ध पक्षलाई अनुरोध गरे ।

दक्षिण एशियाका लागि बैंकका नायब महानिर्देशक दिवेश शरणले खरिद प्रक्रिया तथा दस्तावेजमा सुधार, कठोर करार व्यवस्थापन मुद्रा जोखिम र वातावरणीय व्यवस्थापनका विविध पक्षबारे चर्चा गरे ।

बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले स्थानीय सरकार र निकायसँग निकट सम्पर्क एवं समन्वयमा रहेर विकास–निर्माण परियोजना सञ्चालन भइरहेका बताए ।