कृषि

बालीमा फैलँदै गाँठे रोग

ललितपुर । केही वर्ष पहिलेसम्म काठमाडौँ उपत्यकाको काउली र बन्दामा देखिएको गाँठे रोग अहिले देशका धेरै जिल्लाका धेरैथरी बालीमा फैलिएको छ ।

गाँठे रोग झण्डै ४० जिल्लामा फैलिएको कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । “झण्डै १५ वर्ष पहिले छिटफुट देखिएकामा अहिले यो समस्या व्यापक बनिसकेको छ”, उनले भने, “त्यतिबेला नियन्त्रण गर्न सक्ने अवस्थामा भए पनि अहिले यो समस्या व्यापक बनिसकेको छ ।”

पहिले काठमाडौँ उपत्यकामा देखिएको यो समस्या उपत्यका नजिकका जिल्ला हुँदै अहिले पूर्वपश्चिम सबैतिर फैलिएको खरेल बताउछन् । अहिले यो समस्या रायोलगायत तरकारीमा समेत देखिन थालेको र बीउ, बिरुवासँगै माटाबाट रोग फैलिएको उनी बताउछन् । उनी भन्छन्, “हाम्रोमा माइती÷मावलीबाट कोसेलीका रुपमा बिरुवा लाने चलन छ तर बिरुवासँगै रोग पनि लगिरहेका हुन सक्छौँ । बालीमा सर्ने रोगका बारेमा किसानमा सचेतना पाइँदैन । ”

देश बाहिरबाट बीउ वा बिरुवा ल्याउँदा र यहाँबाट विदेश लैजाँदा स्वस्थता प्रमाणित गर्नुपर्ने नियम छ । बाली संरक्षण निर्देशनालयअन्तर्गतको सो कार्यालयले देशका १६ नाकामा रहेका कार्यालयबाट स्वस्थता प्रमाणपत्र दिँदै आएको छ । देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा भने सो नियम लागु हुँदैन । यसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा रोग तथा कीरा फैलिएर किसानले हैरानी बेहोरिरहेका छन् ।