पु.समाचार

बिग्रिए महानगरका सडक बत्ती- चिरीबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा आएकामध्ये झण्डै ८० प्रतिशतको चिम बिग्रिसकेको बताए ।

गत वर्ष स्थानीयवासीको जनसहभागितामा महानगरपालिकाले चिम हालेको थियो । कम क्षमताको ब्याट्रीका कारण चिम चाँडो बिग्रिएको छ भन्दै उनले भने, “स्थानीयवासीको गुनासो आएपछि म आफैँ पनि रातको समयमा गएर सडकका बत्ती हेर्दै आएको छु ।”

महानगरपालिकाका सडकमा बत्ती जडान गर्नका लागि धेरै संस्था इच्छुक भएको प्रमुख महर्जनले बताए । महानगरपालिकाले भने गुणस्तरमा जोड दिएको छ । उनी भन्छन्, “मैले काम गर्न चाहने संस्थालाई रातमा सबै बत्ती बाल्नुपर्ने र बत्ती चहकिलो हुनुपर्ने सर्त राखेको छु । काम गर्न चाहने संस्थासंग गुणस्तरको कुरा गरेपछि काम पछि हच्किदै आएका छन् । सडक बत्ती नहुँदा रातको समयमा सडक दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले पनि बत्ती जडान गर्न महानगरपालिकालाई भन्दै आएको छ । ”

महानगरपालिकाका भित्री भागमा धेरै ठाउँमा सडक बत्ती छैन ।