पु.समाचार

सेनाद्वारा बम निष्क्रिय

बागलुङ । बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए । बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

गएराति नै बागलुङ नगरपालिका–२ धवलागिरि चोकमा बम विष्फोट भएको थियो । विष्फोटनभएको सडकमा खाल्डो परेको र स्थानीय व्यवसायी श्रीधर कँडेलको घरको सिसा चर्केको छ । धवलागिरि चोकमा भएको विष्फोटनबारे भने प्रहरीले अनभिज्ञता प्रकट गरेको छ ।

मध्यरातमा ठूलो आवाजसहित विष्फोटको आवाज आएपछि सर्वसाधारण त्रस्त भएका थिए । आज बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बम विष्फोट गराएको आशंका गरिएको छ । बन्दका कारण बागलुङलगायत धवलागिरि क्षेत्रको जनजीवन बिहानैदेखि प्रभावित बनेको जनाइएको छ । बन्दका कारण यातायात, बजार ठप्प छ ।