साहित्य

‘कविशिरोमणि रचनावली’ पाँच खण्डमा

काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्याललाई अब एकै कृतिमा भेट्न सकिने भएको छ ।
नेपा–लयले प्रकाशन गरेको ‘कविशिरोमणि रचनावली’मा उहाँका काव्य, लघुकाव्य, नाटक, निबन्ध र अनुदित कृति जस्ता २१ कृति पाँच खण्डमा समावेश गरिएको छ । ‘लालित्य’ काव्यको तेस्रो भाग पहिलो पटक यसै कृतिमा राखिएको छ । कृतिमा उहाँका हस्तलिखित पाण्डुलिपिसमेत छन् । नेपाली वाङ्मयमा आजसम्म प्रकाशित कृतिहरुमा यसैलाई सर्वोत्कृष्ट मानी कृति ‘ग्रन्थशिरोमणि’ नै भएको जिकिर कृति सार्वजनिक कार्यक्रममा सम्पादक सनतकुमार वस्तीले गरे ।
कार्यक्रममा नेपाली शिक्षा परिष्दका सदस्य सचिव रमा शर्माले परिषद्को अगुवाइमा विसं २०११ मा विश्वमा नै नभएको रथयात्रा कविशिरोमणिको भएको र त्यसमा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले नै रथ तानेको स्मरण गर्दै उनले २०१२ सालमा पहिलो पटक मनाइएको भानुजयन्ती कार्यक्रम मूल समारोह समितिका अध्यक्ष सिद्धिचरण श्रेष्ठ र सभापति कविशिरोमणि नै भएको जानकारी दिए ।
कविशिरोमणिकी नातिनी डा प्रतिभा पाण्डेले प्रकाशित अप्रकाशित सबै कृति आफूले जुटाएको बताए । नेपालयका तर्फबाट आभासले कृतिमा कुनै खोट नरहेको जिकिर गरे । सो कृति २००० पानाको छ ।