स्वास्थ्य

चिकित्सकको दाँत भाँच्नेमाथी कारवाही गर्न माग

काठमाडौँ । नेपाल चिकित्सक संघले उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

संघले आज विज्ञप्ति जारी गर्दै जिल्ला अस्पताल डोटीमा कार्यरत डा जीतेन्द्रकुमार सिंहमाथि भएको आक्रमणका दोषीलाई तत्काल कारवाहीको माग गरेको हो । संघका महासचिव डा लोचन कार्कीले भने, “यस्ता प्रकारका आपराधिक क्रियाकलाप यथाशीघ्र बन्द गर्दै घटनाका दोषीलाई कडाभन्दा कडा कानूनी कारवाही गरियोस्, कारवाही नभएमा संघ जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ ।”

जिल्ला अस्पताल डोटीमा कार्यरत डा जीतेन्द्र सिंहमाथि आइतबार अपराह्न २ः३० बजे आक्रमण हुँदा उनको टाउको, हातलगायतमा गम्भीर चोट लागेको छ भने नाथ्री फुट्नाका साथै दाँतसमेत भाँच्चिएको छ । उनको डोटीमै उपचार भइरहेको बताइएको छ ।