पु.समाचार

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, मूख्यमन्त्री पोख्रेलले यसो भन्छन् प्रजातन्त्र दिबसमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशअनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्र दिवस–२०७४ का अवसरमा आज उनले दिएको शुभकामना सन्देशमा भनिएको छ, “हामीले प्राप्त गरेका उपलब्धिको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो ।”

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले यस दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

विसं २००७ फागुन ७ गतेका दिन निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा विसं २०४६ र २०६२÷६३ मा सफल आन्दोलन भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सबै आन्दोलनमा प्रतिविम्बित जनइच्छाअनुसार नै आज हामीले गर्वका साथ संघीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेको उल्लेख गरेकी छन् ।

उनले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात÷अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा यस दिवसले हामी सबै नेपालीमा दिन सकोस् भन्ने कामना पनि गरेकी छन् ।

उपराष्ट्रपतिद्वारा पुन भन्छन्

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज दिएको एक सन्देशमा उनले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने ती महान् वीर वीराङ्गनाहरुलाई स्मरण गर्दै उनीहरुप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

सन्देशमा उनले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरु संस्थागत हुने क्रम तथा नयाँ संविधानको पूर्ण कार्यान्वयनका क्रममा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भई सबै तहमा नयाँ सरकार गठन भइसकेको पनि उल्लेख गरेका छन् ।

उनले यससँगै धेरै वर्षदेखिको राजनीतिक संक्रमणकाल अन्त्य भई नेपालमा राजनीतिक स्थायित्व प्रारम्भ भएको र मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

उनले प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई अझ बलियो बनाउँदै आर्थिक समृद्धिका लागि सहकार्य गर्न सबै तहका सरकार, राजनीतिक दललगायत सबै पक्षलाई अपिल पनि गरेका छन् ।

मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना

प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीनवटै तहको सरकार गठन भइसकेको अवस्थामा अब संविधान र सरकारप्रति जनविश्वास बढाउनाका साथै सरकार जनताको घरदैलोमा पुग्ने वातावरण तयार भएको बताएका छन् ।

अठसठृीऔँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज प्रदेशका जनतालाई दिएको शुभकामना–सन्देशमा मुख्य मन्त्री पोखरेलले एकात्मक राज्यको अभ्यासलाई सङ्घात्मक ढाँचामा विकास गर्ने र आञ्चलिक मनोविज्ञानलाई साझा प्रादेशिक मनोविज्ञानका रूपमा विकास गरी संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरदैलोमा पु¥याउनुपर्ने यस चुनौतीपूर्ण घडीमा सबै राजनीतिक दल, संघसंस्था, राष्ट्रसेवक कर्मचारीहरू र आमनागरिकमा समेत एकजुट भई प्रदेशको समुन्नति र समृद्विका लागि हातेमालो गर्दै अघि बढ्न हार्दिक अपिल गरेका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदप्रति हार्दिक श्रद्धाञ्जलि पनि अर्पण गरेका छन् ।