राजनीति

प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवालगायतका नेताहरुद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । साथै, उनले दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “देशमा हालै सम्पन्न संघ र प्रदेश निर्वाचनमा वाम गठबन्धनलाई अत्यधिक मतले विजयी गराउनुभएको प्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।”

सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु भनिएको छ ।

वर्तमान सरकार आर्थिक चुनौतीको सहज व्यवस्थापन गर्दै संघीयताको सफल कार्यान्वयन गर्दै आगाडि बढ्ने र त्यसका लागि वित्तीय अनुशासन र मितव्ययिता कायम गर्दै जनताको चाहनाअनुसारका विकास कार्यक्रम तीव्रताका साथ सञ्चालन गर्न सबैको सहयोग रहने विश्वास लिएको सन्देशमा उल्लेख छ ।

काँग्रेस सभापति लगायत नेताहरुबाट शुभकामना

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सकेमात्र शहीदप्रतिको सम्मान हुने बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना वक्तव्यमा उनले देशमा प्रजातन्त्र÷लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौँ सपुतले प्रजातन्त्र÷लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गरेका छन् ।

फागुन ७ गते नेपाली जनसंघर्षको इतिहासको एक अविस्मरणीय दिन भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २००७ को कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उल्लेख गरेका छन् ।

उनले देशमा केबल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूलरूपमा अग्रगामी परिवर्तन ल्याएको भन्दै जातजाति, धर्म, लिङ्ग वा वर्गका आधारमा हुने भेदभाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको बताएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष राणाले आज विज्ञप्ति जारी गरेर प्रजातन्त्रप्राप्तिका लागि प्राण उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि दिएका छन् । मुलुकमा स्थापित राजनीतिक प्रणालीअनुसार राज्यको सबै तहमा निर्वाचित जनप्रतिनिधि बहाल भइसकेको अवस्थामा देशको समृद्धि र जनताको विकासका लागि दल क्रियाशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि आज विज्ञप्ति जारी गरी उक्त दिवसले मुलुकको राष्ट्रिय अखण्डताको रक्षा गरी समृद्ध नेपाल बनाउने विषय सबै दलको साझा मुद्दा निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।