अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गरेका थिए ।

उनीहरुबीचको वार्ता ऊर्जा, व्यापार र अन्य विभिन्न विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी दिएका छन् । चाबहारमा बन्दरगाह स्थापना गर्ने विषयलगायत भारत र इरानबीच नौ वटा सम्झौता भएका छन् ।

वार्ता र सम्झौतापछिको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भारत र इरानले एक अर्काबाट धेरै कुराहरु सिकेको बताएका थिए ।

रुहानीले भने दुई पक्षीय हितका लागि अहिलेको भेटवार्ताबाट ठूलो सफलता प्राप्त हुने आशा व्यक्त गरे । “हामीले व्यापार, सीमा शुल्क, प्रवेशाज्ञा र विभिन्न आर्थिक र सांस्कृतिक सम्बन्धका बारेमा सकारात्मक छलफल गरेका छौँ”, उनले पत्रकार सम्मेलनमा भने ।

इरानी राष्ट्रपति रुहानी तीनदिने भ्रमणका लागि बिहीबार भारत आएका छन्।