समाचार

‘केडी वर्ष पत्रकारिता पुरस्कार’ खड्कालाई

बाबियाचौर, म्याग्दी । ‘केडी वर्ष पत्रकारिता पुरस्कार— २०७४’ बाट पत्रकार घनश्याम खड्कालाई सम्मान गरेको छ । कृषि र पर्यटन क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेशन गरेवापत कान्तिपुर दैनिकका पत्रकार खड्कालाई सो पुरस्कारबाट सम्मान गरेको हो । उक्त पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ ।

मंगला गाउँपालिका २ सिमलचौरस्थित केडी कटेजको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार उनलाई सो पुरस्कार प्रदान गरेको छ ।

सोही अवसरमा राससका कमल खत्री र रुप्से दैनिकका प्रताप बानियालाई पनि प्रशंसापत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, कटेजका सञ्चालक अशोक शर्मा, वडाअध्यक्ष धनबहादुर खातीले सो पुरस्कार र सम्मान प्रदान गरेका छन् ।

कृषिमा आधारित पर्यटन र होटल व्यवसाय गर्ने उद्देश्यले दुई वर्षअघि स्थापित उक्त कटेजका सञ्चालक शर्माले प्रत्येक वार्षिक उत्सवका अवसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको सिफारिसमा पुरस्कार र सम्मान प्रदान गरिएको हो ।