पर्यटन/संस्कृति

रुकुम पूर्वको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ

रुकुम । रुकुम पूर्वको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ उडाइएको छ । परीक्षणका लागि जिल्लाको सिस्ने गाउँपालिका–६ रुकुमकोटमा प्याराग्लाइडिङ उडाइएको हो । पर्यटन प्रवर्धन वातावरण संरक्षण केन्द्र, रुकुमको आयोजनामा प्याराग्लाइडिङ परीक्षण शुरु भएको हो ।

यसभन्दा पहिले सिङ्गो रुकुम एक हुँदा रुकुम पश्चिमको मुसिकोटबाट प्याराग्लाइडिङमा रुकुमकोट पुगिए पनि नयाँ जिल्ला भएपछि पहिलो पटक प्याराग्लाइडिङ उडानको परीक्षण भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए ।

प्याराग्लाइडर सञ्चालनको सम्भाव्यता अध्ययन गरी जिल्लामा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्याराग्लाइडिङमा व्यावसायिकता शुरु गर्ने प्रमुख लक्ष्यका साथ शुरु भएको हो । प्याराग्लाइडिङले यहाँ आन्तरिक तथा बाह्य पर्यटनको विकास हुने र जिल्लाको आर्थिक विकास हुने पर्यटन प्रवद्र्धन वातावरण संरक्षण केन्द्र, रुकुमका अध्यक्ष चन्द्रबहादुर केसीले बताए ।

प्याराग्लाइडिङले जिल्लाको समग्र पर्यटन विकासमा ठूलो टेवा पुग्नाका साथै ५२ पोखरी ५३ टाकुरीको नामले प्रख्यात रुकुम जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप मद्धत पुग्ने यहाँका स्थानीयवासीको भनाइ छ ।

स्विट्जरल्याण्डका नागरिक डेनेल मायरले पहिलो पटक जिल्लामा प्याराग्लाइडिङ उडाएका हुन् । यहाँ प्याराग्लाइडिङका लागि सम्भावना राम्रो पाइएको उनले बताए ।

जिल्लाको सिस्ने गाउँपालिकाको धुरिलेखबाट उडान गरिएको प्याराग्लाइडिङ रुकुमकोटमा ल्याण्डिङको अवस्था राम्रो भए पनि अवतरणका लागि सधैँ प्रयोग गर्ने ठाउँको स्थापना गर्नुपर्ने स्विट्जरल्याण्डका नागरिक मायरको भनाइ छ ।