राजनीति

शिक्षालाई सार्थकता दिन राज्यले पुरा २० प्रतिशत लगानी गर्नुपर्छ – गगन थापा

काठमाडौँ । शिक्षा पत्रकार समूहले १८औँ वार्षिकोत्सवका अवसरमा आज सार्वजनिक शिक्षामा योगदान दिने अभिभावक, शिक्षक र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

सम्मानित हुनेमा त्रिवेणी आधारभूत विद्यालय रुपन्देहीका प्रधानाध्यापक मथुरा यादव र कमला मावि सिन्धुलीका व्यवस्थापन समिति सदस्य देवी खड्का हुनुहुन्छ ।

त्यस्तै पुरस्कृत हुनेमा बुटवलका पत्रकार एंव सम्पादक कृष्ण मल्ल रहेका छन् । उनले रु बीस हजार राशिको तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सो सम्मान तथा पुरस्कार प्रदान गर्दै शिक्षकहरुको अनुपस्थिति र विद्यार्थी टिकाउनु शिक्षा क्षेत्रमा मुख्य चुनौती हो भने ।

पूर्वशिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रमा कर्मचारीको तलब एंव पूर्वाधारमा मात्र लगानी भइरहेको बताउँदै अनुसन्धानात्मक काममा लगानी हुनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता गगन थापाले शिक्षामा २० प्रतिशत लगानी नभएसम्म संविधानमा उल्लेखित शिक्षाको मौलिक हक पूरा नहुने बताए ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले संघीयतामा केन्द्र, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँड नभएमा शिक्षा क्षेत्रमा अन्योल बढ्ने बताए ।

शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले प्रादेशिक संरचनामा शिक्षाको संरचनाबारे केही अन्योल भए पनि विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिए ।

शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले सार्वजनिक शिक्षाको सुधारमा शिक्षा पत्रकारिताले अझै वकालत गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वर्गीय पत्रकार भुसालकी श्रीमती मुना भुसाललाई कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनका तर्फबाट प्रिन्सिपल डा मञ्जु मिश्रले रु २५ हजार र समूहका तर्फबाट अध्यक्ष दीपक दाहालले रु ३७ हजार १९५ हस्तान्तरण गरेका थिए ।

समूहको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।