साहित्य

‘एटलान्टिकका भँगालाहरु’ नामक कविता संग्रह विमोचन

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले साहित्यकार किशनसिँह धामीले लेखेको ‘एटलान्टिकका भँगालाहरु’ नामक कविता संग्रहको आज यहाँ विमोचन गरे ।

उपन्यास, काव्य, अनुवाद, संस्मरणजस्ता विषयमा कलम चलाउँदै आएका साहित्यकार धामीको दर्जन पुस्तक प्रकाशित छन् । एटलान्टिकका भँगालाहरु तथा महाकाली गाड शीर्षकका दुईवटा लामा कविता रहेको सो पुस्तकमा अमेरिकाको रहनसहनका बारेमा चर्चा गरिएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले ढृढ, निश्चयी तथा संघर्षशील व्यक्तित्वका धनी कवि धामीले महात्मा गान्धीको जीवनी अनुवाद गरेको स्मरण गर्दै नेपालमा स्थायी शान्तिका लागि महात्मा गान्धीको विचार आज पनि त्यतिकै सान्दर्भिक रहेको बताए ।

कुनै पनि साहित्य सिर्जनाका लागि साहित्यकार एकलव्य भएर लाग्नुपर्ने बताउँदै उनले साहित्यकारको निरन्तर परिश्रमबाट नै नेपाली समाजलार्ई असल मार्गमा दोहो¥याउने साहित्य सिर्जना हुने धारणा व्यत्तः गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले बहुविधामा हात हाल्ने कवि धामीको यो पुस्तक यात्रा संस्मरणका रुपमा रहेको उल्लेख गर्दै साधनाप्रति समर्पण गरेमा मात्र साहित्यकार आफ्नो काममा सफल हुने बताए ।

समीक्षक दीपक फुँयालले गद्यशैलीमा रचिएको धामीको साहित्य नेपाली साहित्यजगत्मा एउटा विशिष्ट योगदान भएको विचार व्यक्त गरे ।

पुस्तकका लेखक स्रष्टा किसनसिँह धामीले समाजका विकृति तथा विसंगतिलाई साहित्यमार्फत जनचेतना अभिवृद्धि गर्ने कोसिस गरेको बताए ।