खेलकुद

तिलोत्तमा गोल्डकप फागुन २४देखि

बुटवल । पुरानो तथा प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २०औँ संस्करण फागुन २४देखि चैत ३ गतेसम्म बुटवल– ११ देवीनगरमा हुने भएको छ ।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा विगतका वर्षमा जस्तै यस वर्ष पनि सो गोल्डकप सञ्चालन हुन लागेको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगिताको विजेतालाई रु सात लाख ७७ हजार ७७७ शहीद गोल्ड मेडल र प्रमाणपत्र तथा द्वितीय पुरस्कार रु चार लाख ४४ हजार ४४४ राशि रहेको संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।

एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा भारतका दुई, भुटानको एकसहित नेपालका १३ ए डिभिजनका क्लब सहभागी हुनेछन् । प्रतियोगिताभरीकै उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, उत्कृष्ट विधागततर्फ (डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड, कोच) लाई जनही रु २१ हजार १११ पुरस्कार दिइने आयोजकले जनाएको छ । संघले अघिल्लो संस्करणको पुरस्कार राशि रु पाँच लाख ५५ हजार ५५५ बाट बढाएर रु सात लाख पु¥याएको जिल्ला फुटबल संघका उपाध्यक्ष भूपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।