खेलकुद

युएइद्वारा नेपालसामु २७८ रनको चुनौती

काठमाडौँ । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आजको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)ले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य दिएको छ ।

नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २७७ रनको योगफल बनायो ।

युएइका लागि सुरुवाती व्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । १२३ बल खेलेका उनले तीन छक्का र १० चौका गरी कुल ११४ रन जोडे ।

त्यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए । लिग चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।