साहित्य

भ्यालेन्टाइन डेमा कवि खनालको अनुवाद कविता

काठमाडौँ । भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस–२०१८ को अवसर पारेर कवि राजेन्द्र खनाल ‘क्षितिज’को शृंगार रसका कविताको संग्रह ‘मृगनयनी’को अंग्रेजी संस्करण बुधबार यहाँ विमोचन गरियो ।

नेपाल स्रष्टा समाजद्वारा प्रकाशित ‘कर्ड्स अफ रोमान्स’ अनुवाद कविता संग्रहको प्रमुख अतिथि तथा साहित्यकार शैलेन्द्र साकार, साहित्यकार नगेन्द्रराज शर्मा, समाजका अध्यक्ष पवन आलोक लगायतका साहित्यकारहरुले संयुक्तरुपमा विमोचन गरे ।

सो कार्यक्रममा साहित्यकार साकारले पूर्वीय साहित्यमा शृंगार रसको प्रभावशाली परम्परा रहेको उल्लेख गर्दै खनालका कविता स्पष्ट र लालित्यपूर्ण भएको बताए ।

उनले अनुवाद भनेको हुर्किएको बिरुवा अर्को ठाउँमा सार्नु जस्तै हो भन्दै हावापानी मिलेमा सर्ने र नमिले मर्ने पनि सम्भावना हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा गीतकार नगेन्द्रराज शर्माले लेखन अब्बल भए अनुवाद पनि अब्बल हुन्छ भन्नु हुँदै लेखकले युवावस्थाका यथार्थ प्रेमपूर्ण भावना कृतिमा व्यक्त गरेको बताए ।

अनुवादित कृतिमाथि समीक्षा गर्दै टिप्पणीकर्ता जीवनाथ लम्सालले प्रेम नभए साहित्य हुने थिएन र मानव जीवन पनि मरुभूमितुल्य हुने थियो भन्दै कवि खनालले सुन्दरतालाई उत्सवका रुपमा लिएको बताए ।

कृतिका अनुवादक महेश पौड्यालले खनालका कवितामा गीति चेतना अब्बल भएकाले कविताहरु सुन्दर भएका र कविका भावना आफ्नो अनुभवसंग मिल्दो भएका कारण अनुवाद गर्दा आनन्दको अनुभूति भएको बताए ।

समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति पवन आलोकले कवि एक विकास कार्यकर्ता भएपनि सुन्दर कविता लेखेको र पौड्यालले अनुवाद पनि त्यत्तिकै राम्रो गरेको बताए ।

समाजका उपाध्यक्ष विधान आचार्यले पूर्वीय साहित्यमा ‘मेघदूत’ रोमान्टीसिजमको अनुपम नमूना भएको बताउँदै खनालका कवितामा पनि प्रेम जीवन्त भएको बताए ।

पूर्व मिस नेपाल अर्थ (२०१३) रोजिशा शाही ठकुरीले आजका युवाहरु भविष्य निर्माणमा व्यस्त हुने भएकाले उनीहरुद साहित्यमा लाग्न नपाएको बताए ।

विजयपुर, धरान निवासी कवि खनाल धैरै वर्षसम्म पाख्रिवास कृषि केन्द्र, धनकुटामा कृषिविज्ञका रुपमा कार्यरत रहेको पनि कार्यक्रममा बताइयो ।