राजनीति

माओवादीबीच एकताका लागि छलफल जारीः महासचिव वैद्य

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले क्रान्तिकारी कम्युनिष्ट बीचको एकता आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्।

क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टीले २३ औँ जनयुद्ध दिवसका आवसरमा संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले एकताका लागि विभिन्न पार्टीसँग छलफल चलिरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिए । उनले भने, “विप्लवजी, मोहनविक्रम सिंहजी र ऋषि कट्टेलजीसँग पार्टी एकतासँगै संयुक्त रुपमा आन्दोलनका कार्यक्रम लैजाने बारेमा छलफल चलिरहेको छ ।”

उनले नेकपा (माओवादी केन्द्र)ले नेकपा(एमाले)सँग पार्टीलाई विलय गराउन लागेको आरोप लगाउँदै त्यहाँ रहेका सच्चा क्रान्तिकारीहरुले विद्रोह गर्ने बेला आएको बताए । उनले भने, “संसद्वादविरुद्ध लडेको पार्टीले संसद्वादको पक्षमा रहेको एमालेसँग एकता गर्दैछ, अब त्यहाँ रहेका इमान्दार नेता, कार्यकर्ताले सोच्ने बेला आएको छ ।”

कार्यक्रममा नेकपाका नेता हेमन्तप्रकाश ओलीले क्रान्तिकारी कम्युनिष्टबीचको एकताका लागि नेतृत्वदायी भूमिका खेल्न महासचिव वैद्यलाई आग्रह गरे ।

माओवादी केन्द्रका नेता गोपाल किराँतीले अहिलेसम्म आफूले पार्टी नछोडे पनि एमालेसँग पार्टी एकता भएमा आफूले पार्टी छोड्ने निष्कर्षमा पुगेको बताए।

माओवादी केन्द्र परित्याग गरेका नेता लोकेन्द्र विष्ट मगरले अहिले क्रान्तिका लागि मैदान खाली रहेको भन्दै माओवादीधारमा रहेका पार्टीबीच एकता गरी त्यो मैदानमा होमिनुपर्ने धारणा राखे।

वामपन्थी नेता तथा लेखक विश्वभक्त दुलालले विज्ञान र प्रविधिको विकासलाई जोडेर सोहीअनुरुपको नयाँ क्रान्तिको तयारी अहिलेको आवश्यकता भएकामा जोड दिए ।