पु.समाचार

यसरी मनाईयो काठमाण्डौमा विभिन्न कार्यक्रम गरी सैनिक दिवस

काठमाडौँ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा आज साँझ सैनिक मञ्च टुँडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सरिक थिईन्।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, प्रधानसेनापति राजेन्द्र छत्री, सरकारका उच्च पदाधिकारी, उच्च सैनिक अधिकारीलगायत उपस्थित थिए ।

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा नेपाल आएका भारतीय सेनाध्यक्ष विपीन रावत सहभागी हुन् । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुन् ।

सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो । सो अवसरमा नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रममा शान्ति सेनामा संयुुक्त राष्ट्र संघमा सहभागी भएको ६० वर्ष पुगेको अवसरमा नेपाली सेनाद्वारा विभिन्न मिसनमा भएको सहभागिताको झलक प्रस्तुत गरिएको थियो ।

सेनाले शिवरात्रिका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरी सेना दिवस भव्य रुपमा मनाएको छ । सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी राख्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण दक्षिण एशियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको इतिहास छ ।

वर्तमान सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरु भएकामा हालसम्म ४२ मिसन रही करिब एक लाख १९ हजार २०७ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

संयुक्त राष्ट्रसंघमार्फत विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ वटा शान्ति मिसन शिविरमा चार हजार ८३४ को संख्यामा नेपाली सैनिक अहिले तैनाथ छन् । नेपाली सेनाको हालको जनशक्ति झण्डै ९५ हजारको हाराहारीमा छ । पछिल्ला समयमा नेपाली सेना मुलुकभित्र विपद् व्यवस्थापन, प्रकृति संरक्षण र सडक विस्तारलगायतका पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ ।