पु.समाचार

सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा

मलेखु, धादिङ । धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत खनियाबास–२ मा सडक खन्न अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
सोमबार सडक खन्ने क्रममा सो क्षेत्रमा गाउँबासी र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि सडक खन्न अवरोध गर्दा विकासको काममा अवरोध गर्न नदिइने जनाउँदै प्रहरीले पाँच जनालाई झर्लाङबाट पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए ।
धादिङबेंसी–तिप्लिङ ५७ किमी सडकमध्ये डुण्डुरेदेखि तिप्लिङसम्म रु २२ करोडको लागतमा २९ किमी सडक खन्न आरके कन्सट्रक्सन नामक ठेकेदारमार्फत काम हुँदै आएको छ । एक महिनाअघिदेखि गाउँबासीले जिल्लाको सामरिक महत्वको सडक बनाउँदा गाउँबाट लानुपर्ने माग गर्दै आएका छन् ।
सडक डिभिजन कार्यालयले दुई वर्षअघि गरेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)अनुसार नेत्रावती नदी छेउबाट सडक खन्नुपर्नेछ । जिल्ला सुरक्षा समितिको बैठकले विकासका काममा अवरोध गर्न नइिदने र सुरक्षा प्रबन्ध गरी डिपिआर भएकै स्थानबाट सडक खन्न सुरक्षा प्रदान गरिने निर्णय भएपछि सडक निर्माणस्थलमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी सडक खन्ने काम भइरहेको छ ।
गाउँबाट लाने भन्ने गाउँबासीको माग र डिपिआर गरिएको स्थानबाटै सडक खन्नुपर्ने भन्ने सडक डिभिजन कर्यालयको निर्णय भएकाले सडक खन्नका लागि विवाद आएको बताउँदै झर्लाङ निवासी मंग तामाङले गाउँबासीको भनाइअनुसार गाउँबाटै सडक खन्नुपर्नेमा जोड दिए ।