अन्तर्राष्ट्रिय

श्रीलङ्काको स्थानीय निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न, ७० प्रतिशत मत खस्यो

कोलोम्बो, श्रीलङ्का । श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ ।
स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भई अपरान्ह् ४ बजे सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोगतथा निर्वाचनमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले जनाएका छन् ।

निर्वाचन पर्यवेक्षकका अनुसार निर्वाचनमा ७० प्रतिशत अर्थात् १५ करोड आठ लाख मतदाताले सहभागिता जनाएका थिए ।

निर्वाचनमा राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री रनिल विक्रमासिङ्गे तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष लगायतका उच्च पदस्थ सरकारी तथा प्रतिपक्षी दलका अधिकारीले मतदान गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्री विक्रमासिङ्घेले सन् २०१५ मा सत्ता सम्हालेपछि ल्याएको सुधारका कार्यक्रमलाई परीक्षण गर्ने कसीका रूपमा हेरिएको छ ।

निर्वाचनमा ६५ हजार प्रहरी, ४१ हजार विशेष सुरक्षा अधिकारी तथा सात हजार कर्मचारीको प्रयोग गरिएको थियो ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन विभिन्न स्थानमा बल प्रयोग गर्ने वा मतदातालाई तर्साउन खोज्ने ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । निर्वाचनका क्रममा कसैको मृत्यु नभएको बताइएको छ ।