खेलकुद

आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु

काठमाडौँ । किङकम स्पोट्र्स क्लबको आयोजनामा आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । काठमाडौँको भीमसेनगोलामा आजदेखि शुरु भएको प्रतियोगिताको नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंहले उद्घाटन गरे ।

नेता सिंहले स्थानीयस्तरबाट शुरु गरेर उपत्यकाका ब्याडमिन्टनका प्रतिष्ठित क्लबलाई समेटेर प्रतियोगिता गर्न लागेर राम्रो काम गरेको बताए । उनले किङकम क्लबले खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको उल्लेखसमेत गरे ।

उक्त प्रतियोगिता आगामी फागुन १२ गतेसम्म चल्ने क्लबका अध्यक्ष राजेश गुरुङले जानकारी दिए । प्रतियोगितामा उपत्यकाका ३८ समूहको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ४० हजार, दोस्रोलाई रु २५ हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार दिने क्लबले जनाएको छ ।