स्वास्थ्य

स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलालाई स–सम्मान दुई हजार भत्ता

सल्लेरी, सोलुखुम्बु । महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ । आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो ।

सोही निर्णयअनुसार एक महिनाको अवधिमा दुई जना आमाले भत्ता बुझिसकेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक हरिप्रसाद आचार्यले जानकारी दिए ।

सरकारले प्रदान गर्दै आएको रु एक हजार ५०० र गाउँपालिकाको तर्फबाट प्रदान गर्ने रु दुई हजार गरी जम्मा रु तीन हजार ५०० भत्ता सत्केरीले बुझेका छन् । यस्तै अन्यत्र पठाउनु परेमा सरकारको तर्फबाट रु ५०० र गाउँपालिकाको तर्फबाट रु दुई हजार गरी जम्मा रु दुई हजार ५०० भत्ता पाउने छन् ।

साविक छेस्काम, बुङ र गुदेल गाविसलाई मिलाएर बनाएको महाकुलुङ गाउँपालिकाको तीन वटा स्वास्थ्य चौकीमध्ये गुदेल स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । साविकको छेस्काम र बुङमा समेत बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए ।
थुलुङ दूधकोशी गाउँपालिकाले भने अस्पतालमा प्रसूति गराउनेलाई रु पाँच हजार र बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई रु तीन हजार ५०० प्रदान गर्ने निर्णयको गत माघ ५ गतेदेखि कार्यान्वयन भएको छ ।

स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा

गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । २५ जना स्वास्थ्य स्वयंसेविका रहेको उक्त गाउँपालिकामा चैतदेखि यो कार्यक्रम शुरु गरिने गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए ।

पाँच जनाको परिवारलाई सरकारले स्वास्थ्य स्वयंसेविका भएकाले दिएको छुटपछि प्रिमियम तिर्नुपर्ने रकम रु दुई हजार २५० गाउँपालिकाले तिर्ने भएको हो । यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई कामको मूल्यांकनका आधारमा प्रोत्साहन भत्ताबापत एक जनालाई वार्षिक रु १० हजार दिने भन्दै बजेटसमेत विनियोजन गरेको छ ।