पु.समाचार

चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट

भक्तपुर । आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश भोजराज शर्माको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ को व्यवस्थानुसार कानूनबमोजिम सिधा पाउने गरी अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी अदालती व्यवस्था १२४ बमोजिम आदेश दिइएको अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

आफूले श्रीमतीमाथि परपुरुषसँग लागेको शंका भई पटक पटक झगडा पर्दै आएको अभियुक्त सुमनले प्रहरी र अदालतमा दिइएको बयानमा उल्लेख गरेका छन् । श्रीमती जयन्तीले भने विसं २०६२ मा विवाह भई एक एक छोरी र छोरा जन्म भइसकेपछि पनि श्रीमान्ले माइत जाँदा वा अरु कोहीसँग बोल्दा पनि शंका गर्ने र बेला बेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख गरेकी छन् ।

पुस २६ गते पनि आवेगमा आएर श्रीमान्ले स्टिलको पाइपले टाउकामा हानेर बेहोश र मरणासन्न अवस्थामा पु¥याई कोठामै छाडेर हिँडेपछि परिवारका अन्य सदस्यले जयन्तीलाई मध्यपुर अस्पताल पु¥याएको प्रहरीको भनाइ छ । घाइते जयन्तीको चार ठाउँमा टाउको फुटेको र २० भन्दा टाँका लगाइएको छ । बहिनीको अवस्था गम्भीर भएपछि जयन्तीका दाजु मनोज श्रेष्ठले ज्यान मार्ने उद्योगअन्तर्गत सुमनविरुद्ध जाहेरी दिएको थियो । दोषी ठहर भए सुमनलाई पाँचदेखि १० वर्षसम्म कारागार सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको स्रेष्तेदार बोहराले जानकारी दिए ।