राजनीति

प्रजातन्त्र दिवसलाई संविधान र संघीय संरचना कार्यान्वयन दिवसका रुपमा मनाऔं-सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यसपटकको ६८ औँ प्रजातन्त्र दिवस संविधान र संघीय संरचना कार्यान्वयन दिवसका रुपमा मनाउनुपर्ने बताएका छन्।

प्रजातन्त्र दिवस, प्रचारप्रसार उपसमितिको आज सूचना तथा सञ्चार मन्त्रालयमा बसेको बैठकमा उनले भने, “यसपटकको प्रजातन्त्र दिवस संविधान र संघीय संरचना कार्यान्वयनका दृष्टिले विशेष महत्व राख्दछ, योभन्दा अर्को खुशी केही हुनै सक्दैन, अब मुलुकमा राजनीतिक स्थायित्व भई आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्यो, यही खुशीयाली आदानप्रदान गर्दै प्रजातन्त्र दिवस मनाऔँ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतलले यस पटकको प्रजातन्त्र दिवस विशेष दिवसको रुपमा मनाईरहेको छ भनेर आम नेपाली जनताको घरघरमा पुग्ने गरी प्रचारप्रसार गर्न मातहतका निकायका प्रमुखलाई निर्देशन पनि दिए ।
आगामी फागुन ७ गते ६८ औँ प्रजातन्त्र मनाइँदै छ । दिवस मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मूल समारोह समिति र सूचना तथा सञ्चारमन्त्री बस्नेतको अध्यक्षतामा प्रचारप्रसार उपसमिति गठन भएको छ ।

प्रजातन्त्र दिवसलाई औपचारिकतामा सीमित नराख्न आग्रह गर्दै मन्त्री बस्नेतले भने– “यो दिवस मनाउन सबैको सार्थक सहभागिता हुनुपर्छ ।”

सो अवसरमा सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रजातन्त्र÷लोकतन्त्र स्थापना गर्न आन्दोलन गर्ने तर यसको सम्झनामा दिवस मनाउन औपचारिकतामा सीमित हुने परम्परालाई अन्त्य गर्नु जरुरी रहेको बताउँदै प्रजातन्त्रका विषयमा विद्यालय तहदेखि नै सहभागिता गराउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते तीन दिनसम्म मनाउन, प्रजातन्त्रसम्बन्धी प्रचारप्रसारका सामग्री, परिसंवाद, अन्तरसंवाद, तस्वीर तथा आलेख सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले राससले प्रजातन्त्र दिवसका अवसरमा यससम्बन्धी समाचार, आलेख, तस्वीर तथा श्रव्य सामग्री सम्प्रेषणमा उच्च प्राथमिकता दिइने जानकारी दिए ।

बैठकमा मन्त्रालयअन्तर्गतका रेडियो नेपाल, नेपाल टेलिभिजन, सूचना विभाग, मुद्रण विभाग, नेपाल टेलिकमलगायतका प्रतिनिधिले दिवसका अवसरमा आफूले सम्पादन गर्ने कार्यका बारेमा जानकारी दिए ।