पु.समाचार

तराईबाट हलेसी जोड्ने बतासेघाटमा पुल बन्ने

खोटाङ । पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ । उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो ।

सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक समृद्धि प्राप्तिका लागि सुनकोशी गाउँपालिकाको पहलमा पुल निर्माण गर्न लागिएको जनाइएको छ । सुनकोशीको किनारसम्म खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनिसकेकाले पुल निर्माणको पहल थालिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए ।

उनका अनुसार सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगबाट पुल निर्माणका लागि तोक आदेश भइसकेको छ । हाल झोलुङ्गे पुल सञ्चालनमा रहेको बतासेघाटमा पक्की पुल निर्माण भए त्रि–धार्मिकस्थल हलेसी र गाईघाट आवतजावत गर्ने सबैभन्दा छोटो सडकमार्ग खुल्ने बताइएको छ ।

पुल निर्माण भएपछि खोटाङबाट प्रदेशको राजधानी जान–आउनसमेत सहज र छिटो हुने जनाइएको छ । सुनकोशीको दुवैतर्फ सडक निर्माण भएको वर्षौँ बिते पनि बतासेघाटमा पक्की पुलको अभाव छ ।

सुनकोशीमा पुल बनेपछि हाल पूर्वी तराईबाट कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–सुनकोसी गाउँपालिकाको बतासेघाट–हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको होलेसुङ –जनकराज राई मार्ग हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्ने जनाइएको छ ।

बतासेघाटमा पुल निर्माण भएपछि आवत जावतबाहेक खोटाङ र उदयपुरको आर्थिक, धार्मिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने प्रमुख राईले बताए ।

पुलका कारण ओखलढुंगा–सोलुखुम्बुको सगरमाथा ट्रेकिङ तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । सुनकोशी गाउँपालिकाका कतिपय स्थानीयवासीले काठमाडौँ जानेक्रममा उपयोग गर्दै आएको बतासेघाटमा पुल निर्माणका लागि गाउँपालिकाले गत साउन १९ गते भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयसमक्ष निवेदन दिएको थियो ।

बतासेघाटमा पक्की पुल बनेपछि दाजिर्लिङ, सिक्किम लगायतबाट हलेसी तथा सगरमाथा क्षेत्र पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने जनाइएको छ । खोटाङतर्फ दुर्छिमका स्थानीयवासीले अढाई वर्ष लगाएर निर्माण गरेको दलस्वर चोकदेखि सुनकोशीको बतासेघाट जोड्ने १२ किलोमिटर होलेसुङ –जनकराज राई मार्ग २०७२ साल जेठ ९ गते उद्घाटन गरिएको थियो ।