साहित्य

गुरुङको एक जातिबारे पुस्तक विमोचन

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभामा गुरुङ जाति भित्रका पोलो लामिछानेका बारेमा लेखिएको पुस्तक विमोचन गरिएको छ ।

गत शनिबार खाँदबारी नगरपालिका–११ हेलुवामा आयोजित एक कार्यक्रमबीच वृद्ध ९३ वर्षीय पंकामायाँ गुरुङको बाहुलीबाट पुस्तक विमोचन गरिएको हो । गुरुङ जातिभित्र रहेको पोलो लामिछाने जातिका बारेमा लेखिएको संखुवासभा जिल्लामा यो नै पहिलो पुस्तक भएको कार्यक्रमका प्रमुख अतिथि तथा तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद, संखुवासभाका अध्यक्ष मित्रकुमार गुरुङले बताए ।

पुस्तकमा मानव जातिको उत्पत्ति र त्यसभित्र गुरुङ जातिको धर्मसंस्कार, संस्कृति र इतिहासको खोजअनुसन्धान गरेर पुस्तकका रुपमा प्रकाशन गरेको उनले बताए । गुरुङ जातिभित्र पनि धेरै प्रकारका गुरुङका थरहरु हुने गर्दछन् । सोही गुरुङ थर भित्रका एक थर हुन् –पोलो लामिछाने ।

यो पुस्तकमा पोलो लामिछानेको वंशावली र इतिहासका बारेमा लेखिएको पुस्तकका लेखक विनोद गुरुङले बताए । धेरै लामो खोजअनुसन्धान र अध्ययनबाट पुस्तकका रुपमा प्रकाशन गरेको उनको भनाइ छ । पुस्तक विनोद गुरुङ र भोलामान गुरुङले संयुक्तरुपमा लेखेका हुन् ।

कार्यक्रममा ८६ वर्षीय वीरबहादुर गुरुङ, ७८ वर्षीय कर्णबहादुर गुरुङ, ७७ वर्षीय प्रेमबहादुर गुरुङ, ७५ वर्षीय ललिमायाँ गुरुङ, ७८ वर्षीय सिन्दुरी गुरुङका साथै लेखकद्वयलाई समेत खादा अबिर र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।

यस्ता खालका इतिहासमूलक खोजअनुसन्धानले भविष्यमा समेत प्रमाणका रुपमा काम गर्ने भएकाले पुराना बूढापाका अभिभावकले आफूले जानेबुझेका कुराहरु नयाँ पुस्तालाई बताउनुपर्नेमा कार्यक्रममा उपस्थित बुद्धिजीवीले जोड दिनुभयो । यो पुस्तक हेलुवाली पोलो लामिछानेको इतिहास भएपनि यो पुस्तक समग्र गुरुङ जातिको इतिहाससँग सम्बन्धित रहेको कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।

कार्यक्रममा बरुण गुरुङ, रीता गुरुङ, प्रेमबहादुर गुरुङ, मनिराज गुरुङ, सन्देश गुरुङ लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।