कृषि

झण्डै १४ हजार किलो मकैको बीउ यसरी गरियो वितरण

फलेवास, पर्वत । चालू आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा कृषकलाई १३ हजार ३०० किलो मकैको बीउ वितरण गरिएको छ । मकै लगाउने याम शुरु हुनै लाग्दा जिल्ला कृषि विकास कार्यालयले कृषकलाई मकैको बीउ वितरण गरेको हो । मकै उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रका व्यावसायिक कृषकलाई बीउ वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएका क्षेत्रमा उक्त बीउ वितरण गरिएको हो । कृषकलाई ५० प्रतिशत अनुदानमा अरुण–२ र मनकामना तीन जातको मकैको बीउ वितरण गरिएको हो । अहिले बजारमा अरुण–२ प्रतिकिलो रु ६४ र मनकामना–३ को रु ६२ पर्ने भए पनि कृषकलाई अरुण–२ रु ३२ र मनकामना–३ रु ३१ मा उपलब्ध गराइएको रेग्मीले बताए ।

मकै जोन कार्यक्रम लागू भएको फलेवास नगरपालिका तथा अन्य सातवटै स्थानीय तहमा कृषकको मागअनुसार बीउ वितरण गरिएको छ । जिल्लामा झण्डै १५ हजार हेक्टर क्षेत्रफलमा ३२ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । फलेवास नगरपालिकाको खानीगाउँ, मुडिकुवा, देवीस्थान, लिमिठाना, भँगरा, ठानामौला, कार्किनेटा, शंकरपोखरी, कुर्घा र पाङ्राङ, कुश्मा नगरपालिकाको ठूलीपोखरी, खौलालाँकुरी र आर्थर, मोदी गाउँपालिकाको देउपुर, देउराली, चित्रे, तिलाहार र भुक तथा बिहादी गाउँपालिकाको रानीपानी, बर्राचौर, वहाकी र शालिग्राममा मकै पर्याप्त मात्रामा उत्पादन हुँदै आएको छ ।

जिल्लाबाट गत आवमा १५ टन मकैको बीउ बिक्री भएको थियो । फलेवासस्थित झकलक कृषि सहकारी संस्थामार्फत उक्त बीउ बिक्री गरिएको थियो । खानीगाउँ र देवीस्थानको १५ हेक्टरमा उत्पादन गरिएको मकैको बीउ ७५ प्रतिशत अनुदानमा कृषि विकास कार्यालयमार्फत वितरण गरिएको थियो ।