अन्तर्राष्ट्रिय

साउदी अरबद्वारा यमनी विद्रोहीको आक्रमण विफल

रियाद, साउदी अरब । साउदी अरबको हवाई प्रतिरक्षा बलले यमनी सिया हुथी विद्रोहीद्वारा साउदी भूभागलाई निशाना बनाई छाडिएको ब्यालिस्टिक क्षेप्यास्त्रलाई सोमबार बीचैमा नष्ट गरिदिएको राज्यसञ्चालित संञ्चारमाध्यमले जनाएको छ ।

यमनको हुथी विद्रोहीको पकड रहेको उत्तरी क्षेत्र सादाबाट गरिएको आक्रमणलाई स्थानीय समय अनुसार ७ बजेर २३ मिनेटको समयमा नष्ट गरिएको साउदी सेनाका कर्नेल तुर्की अल मालिकीले एसपिए न्यूज एजेन्सीलाई बताउनुभयो ।
साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको सरकारलाई सहयोग गर्दै आएको र इरानको सहयोगप्राप्त हुथी विद्रोहीबीच सन् २०१५ को मार्चदेखि यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म नौ हजार २०० यमनी नागरिकले ज्यान गुमाएका छन् ।

साउदी गठबन्धनले इरानद्वारा हतियारप्राप्त विद्रोहीले पटक पटक यमन तथा साउदी अरबका शहरी इलाकालाई लक्षित गरी आक्रमण गर्दै आएको र तीनलाई बीचैमा नष्ट गरिएको बताउँदै आएको छ ।

गत नोभेम्बरमा पनि इरानका निर्मित हतियारद्वारा विद्रोहीले पटक पटक आक्रमण गर्दा आफ्नो सुरक्षामाथि चुनौति थपिएको भन्दै यसबारे सम्बन्धित सवैलाई जानकारी गराएको छ । नोभेम्बरमा रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको इरानमा निर्मित हतियारलाई आकाशमै नष्ट गरेको रियादले जनाएको थियो ।