अन्तर्राष्ट्रिय

राजनीति र सर्बोच्चको बिबादले मालदिभ्स्मा राजनीतिक संकट बढ्यो

माले माल्दिभ्स । मालदिभ्स्मा राजनीतिक संकट झनै गहिरिएको समाचार छ । गएको बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको समाचार छ ।

आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वोच्च अदालतको आदेशको पालना नगरेकोभन्दै सर्वोच्च अदालतले दिने कुनै पनि आदेशको पालना नगर्न निर्देशन जारी गरेको छ ।

मालदिभ्स्को सर्वोच्च अदालतले बिहीबारको फैसलामा यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दिएको थियो ।

उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ । तर पनि यहाँको वर्तमान सरकार उनीहरुलाई रिहा गर्ने पक्षमा छैन ।

अदालतको आदेश नमानेको भनेर यहाँको सर्वोच्च अदालतले सरकारको कदमप्रति आलोचना गर्दै आएको छ । उसले राष्ट्रपति अब्दुल्लाह यामिनलाई महाअभियोग लगाउन वा उनलाई पक्राउ गर्नुपर्ने आदेशसमेत दिनसक्ने अनुमान गरिएको छ ।

यदि त्यस्तो आदेश आयो भने कुनै पनि आदेशको पालना नगर्न सरकारले सुरक्षा निकायका नाममा आइतबार निर्देशन जारी गरेको हो ।

उता पूर्व राष्ट्रपति नसिदका कार्यकर्ताले उनलाई रिहा गर्नुपर्ने माग गर्दै मालदिभ्स्को राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्दै आएका छन् ।

कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण राजधानी मालेको अवस्था तनावपूर्ण बन्दै गएको बताइएको छ । दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । यहाँ बिहानैदेखि प्रदर्शनहरु हुने गरेका छन् ।

नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित भएका हुन् । तर उनलाई सन् २०१२ को फेब्रुअरी महिनामा ‘कू’ गरेर हटाइएको थियो ।

उनलाई तत्कालीन सरकारले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । पछि अदालतले १३ वर्षको जेल सजाय सुनाएको थियो । राजनीतिक आस्थाका आधारमा उनलाई जेल हालिएको बताउने गरिएको छ ।

मालदिभ्स्का राष्ट्रपति यामिनले आगामी सेप्टेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन आह्वान गरेका छन् । त्यसैले पनि सो निर्वाचनअगावै सबै राजनीतिक बन्दीलाई रिहा गर्न अदालतले आदेश दिएको हो ।

तर पनि उनीहरुलाई रिहा गर्न सरकार तयार भएको छैन भने यता अदालतको आदेशको पालना नगरेको भन्दै यहाँको सर्वोच्च अदालतले पनि सरकारका विरुद्धमा थप फैसला गर्नसक्ने अनुमान गरिएको छ ।

पछिल्लो समयमा मालदिभ्स्मा सर्वोच्च अदालत र सरकारबीच विवाद बढ्दै गएको छ । यस विवादका कारण यहाँको राजनीतिक संकट थप गहिरिने अनुमान गरिएको प्राप्त समाचारमा जनाइएको छ ।