शिक्षा

सिटिइभिटीका विद्यार्थीलाई डिप्लोमा प्रवेशमा सहज बनाउन माग

काठमाडौँ । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीले इञ्जिनियरिङ र मेडिकल प्रवेश परीक्षामा उच्चमाध्यमिक शिक्षा परिषद्को विज्ञान संकायका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रमका आधारमा आफूहरुलाई परीक्षा नलिन माग गरेका छन् ।

फरक क्षमता र संकायबाट आएका विद्यार्थीलाई एउटै पाठ्यक्रम र खुला प्रवेश परीक्षा भर्ना नगरी लिटरल इन्ट्री प्रणाली लागू गर्न उनीहरुले शिक्षा मन्त्रालयलगायत सम्बद्ध निकायमा माग गरेका हुन् ।

सिटिइभिटीअन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीका तर्फबाट गोरखाका सन्तोष देवकोटाले दिएको सो ज्ञापनपत्रमा फरकफरक संकायका विद्यार्थीलाई नेपालका हरेक विश्वविद्यालयले आउने शैक्षिकसत्रदेखि लागू हुने गरी शिक्षा नियमावलीमा संशोधन गर्न माग गरिएको छ । देवकोटाले आफूहरुलाई शैक्षिक विभेद गरिएकाले विश्वविद्यालय तहमा प्रवेश पाउन कठिनाइ भएको बताए ।

सो विषयमा शिक्षा मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक छलफल गर्ने जनाएको छ ।