खेलकुद

शिवम् न्यु डायमण्ड र एपीएफ सेमिफाईनलमा

काठमाडौं । शिवम् न्यु डायमण्ड एकेडेमी र एपीएफ क्लबले प्रथम शिवम् न्यु डायमन्ड कप भलिबल राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा स्थान शुरक्षित गरेका छन् । आईतवार भएको उद्घाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हराउदै समूह बी को बिजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो ।

प्रभावशाली ओपन स्पाईकर प्रतिभा मालाी वुमन अफ दी म्याच बनेको लिग खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीलाई २५–१३,२५–१९ र २५–१७ को सोझो सेटमा हरायो । शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता समूह ए को लिग खेलमा एपीएफले टप्स उमाबीलाई ३–० को सोझो सेटमा हरायो । टप्सकी भेट्रन खेलाडी शसिसरा थापाले सेटरको भूमिका निर्वाह गरे पछि बलियो बन्दै गएको टप्स उपाबीको टिमले दोश्रो सेटमा एपीएफलाई चुनौती दिएको थियो ।

एपीएफले पहिलो र तेश्रो सेट सहज निकाले पनि दोश्रो सेटमा कोर्टमा निकै मेहनत गर्नु पर्यो । पहिलो सेट २५–१२ ले जिते पनि दोश्रो सेट हात पार्न २५–२२ को लामो सेट खेल्नु परेको थियो । तेश्रो सेटा भने २५–१० को सहजतामा आफ्नो नाममा लेखाउदै समूह ए को बिजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गर्यो । एपीएफको जितमा उत्कृष्ट प्रदर्शन गरेकी प्रभावशाली ओपन स्पाईकर सरस्वती चौधरी वुमन अफ दी म्याच चुनिईन् ।

प्रतियोगितामा वुमन अफ दी म्याच चुनिएका खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पिनी साहास स्पोर्टस्का प्रमुख जनक न्यौपानेले प्रायोजन गरेका छन् । साहास स्पोर्टस्ले प्रतियोगिताका वुमन अफ दी म्याचका सम्पूर्ण खेलाडीहरुलाई आफ्नो ब्रान्टको ट्रायक–सुट उपलब्ध गराएको छ ।

ढोरपाटन भलिबल प्रशिक्षण क्लबमा संचालन भएको प्रतियोगिताको उद्घाटन पूर्व सभासद श्याम श्रेष्ठ,मुख्य प्रायोजक शिवम् सिमेन्ट लिमिटेडका उपाध्यक्ष सजन देवकोटा, सिनियर मार्केटिङ प्रमुख केशब अर्याल,नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी माली,प्रतियोगिता संयोजक कुमार राईले गरेका थिए ।

प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले प्राप्त गर्ने एक लाख एक हजारको नगद प्रायोजन नारायणबहादुर महर्जनले गरेका छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्नेले ५१ हजार प्रायोजन प्रवासी भलिबल प्रेमी बुद्धीमान तामाङले गरेका छन् । चौथो स्थान हासिल गर्नेले टिमले प्राप्त गर्ने रकम २१ हजार पुरस्कारको पुरस्कार हाल जापन निवासी नेपाल भलिबल संघका जापानका अध्यक्ष नबिन गुरुङले गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले प्राप्त गर्ने १० हजार बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको छ । बिधागततर्फ उत्कृष्ट स्पाइकर , उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले जनहि ५ हजार नगद र ट्रफि प्राप्त गर्ने छन् ।

प्रतियोगिता २३ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको अन्तिम समयमा नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समितिले खेल नखेल्ने जानकारी गराएको थियो । प्रतियोगितामा चार टिम मात्र सहभागिता भए पछि दुवै समूहका टिमले स्वतः सेमिफाईनल प्रवेश गर्ने अवसर प्राप्त गरेका थिए । सोमवार हुने सेमिफाईनल खेलमा अपरान्ह ११ बजे शिवम् न्युडायण्ड एकेडेमी र टप्स तथा एपीएफ र आमीबीच १ः३० बजे हुनेछ ।

आयोजक भ्यालीपब्लिक सेमिफाईनलमा
काठमाडौं । आयोजक भ्यालीपब्लिक स्कुल अन्तरविद्यालय फुटबल फाएभ ए साईट प्रतियोगितामा आईतवार सेमिफाईनलामा प्रबेश गरेको छ । भ्यालीले क्वाटरफाईनल खेलमा कमल राईको निर्णायक १ गोलको सहयोगमा ड्याफोडिललाई १–० गोलले हरायो ।
शुन्दरवस्तीस्थित आयोजक भ्यालीपब्लिक स्कुलको कोर्टमा भएको अन्य क्वाटरफाईनल खेलमा हिमालयन र बालबिकासका दुवै टिमले सफलता हात पारेका छन् । हिमालयनले भ्यालीपब्लिक बीलाई १–० गोलले हरायो ।

हिमालयनका लागि निर्णायक गोल सुभाष खत्रिले गरे । त्यस्तै बालबिकास एले भद्रकालीलाई ३–० गोलले हराउदा पवन तामाङले २ तथा सुजन श्रेष्ठले एक गोल गरेका थिए । बालबिकास बीले रिपुमर्दीनीलाई १–० गोलमा हरायो । सेमिफाईनलमा भ्यालीपब्लिक र हिमालयन तथा बालबिकास ए र बि बिच प्रतिस्पर्धा हुनेछ ।