उर्जा

पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय विदेशमन्त्रीको भ्रमणले सघाउ पुग्ने : परराष्ट्रबिद

काठमाडौँ । परराष्ट्रविद्हरुले भारतीय बाह्यमामिलामन्त्री सुषमा स्वराजको नेपाल भ्रमणबाट नेपाल–भारतबीचको शदियौँ पुरानो सम्बन्ध थप सुमधुर तथा प्रगाढ हुने बताएका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले आर्थिक समृद्धिको बाटामा अगाडि बढ्न लागेको नेपालले भारतबाट सहयोग खोज्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा (एमाले)का नेता डा राजन भट्टराईले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण मूलरुपमा शिष्टाचार भए पनि भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएका स्वराजसँग नेपाल भारतबीचको सुमधुर सम्बन्धबारेमा नेताहरुबीच विचारविमर्श भएको उल्लेख गरे ।
नेपाल राजनीतिक स्थिरतापछि आर्थिक विकास र समृद्धिमै केन्द्रित छ भन्दै उनले भारतको आर्थिक सहयोग लिएर त्यसको उपयोग गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग भएकालेसम्बन्ध प्रगाढ बनाउन नेपालले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
ठूलो व्यापार घाटा भएको नेपालको विकासका लागि जलस्रोतको विकास गर्नुपर्नेमा जोड दिँदै उनले वषौँदेखि थन्किएको पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय विदेशमन्त्रीको भ्रमणले सघाउ पुग्ने बताए । भारतका लागि पूर्वराजदूत डा दुर्गेशमान सिंहले अहिले बनिरहेको राम्रो वातावरणबीच नै नेपाल भारत सम्बन्धलाई प्रगाढ पार्ने तथा विकासतर्फ अघि बढ्नुपर्ने औँल्याए ।

क्लबमै आयोजित अर्को साक्षात्कारमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्षमणलाल कर्णले केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विचार पार्टीले तत्काल नबनाएको स्पष्ट पारे ।

उनले मधेशी, आदिवासी, थारु आदिको अधिकार दिन एमाले प्रष्ट नभएसम्म उसको नेतृत्वको सरकारमा जाने वातावरण नबन्ने बताउँदै भने, “मधेशी जनताको अपेक्षा र आकांक्षाअनुसार तिनको अधिकारको पक्षमा संविधान संशोधन हुनुपर्छ ।” उनले नेपाल र भारत का हजारौँ छोरीबेटी भारत र नेपालमा बिहेवारी गरेर बसेकाले दुई मुलुकबीच खुला सिमाना कायम हुनुपर्ने बताए ।