सूचना प्रविधि

विकासका लागि प्रविधि आवश्यक–मन्त्री बस्नेत

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याएका छन् ।

इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) द्वारा आज यहाँ आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ को उद्घाटन गर्दै उनले भने – “मुलुकमा प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।”

मन्त्री बस्नेतले तीन वर्षभित्रमा प्रत्येक जिल्लामा निःशुल्क कम्युटर शिक्षा पु¥याउने सरकारको योजनाअनुसार अहिले विभिन्न १४ जिल्लामा त्यसको तयारी भइरहेको जानकारी दिदैं काठमाडौँको पशुपति र स्वयाम्भूलगायतका क्षेत्रलाई सरकारले वाइफाई फ्रि क्षेत्रको रूपमा अगाडि बढाएको जानकारी दिए ।

“नेपालकै स्रोत साधन प्रयोग गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी विदेश पलायन भएका युवालाई समेत मुलुकभित्र रोजगारीको सिर्जना गर्नुपर्छ”–उनले भने ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले मुलुकमा संविधान निर्माण भइरहेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

तीन दिनसम्म चल्ने सो महोत्सवमा इञ्जिनियरिङ र प्रविधिसँग सम्बन्धित करिब १५० स्टल राखिएको महोत्सवका संयोजक प्रसिद्ध कार्कीले जानकारी दिए ।