खेलकुद

पूर्वाञ्चलको विजयी सुरुआत

काठमाण्डौ ।  पूर्वाञ्चलले तेस्रो राष्ट्रिय सिभिल भलीबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । बुधबार भएको प्रतियोगिताको उद्घाटन खेलमा मध्यमाञ्चललाई २६–२४, २३–२५, १९–२५, २५–१९, १५–१३ ले पराजित गर्दै पुर्बाञ्चलले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
प्रतियोगिताको पहिलो दिन एउटा मात्रै खेल सम्भव भएको थियो । प्रतियोगितामा पूर्वाञ्चल र मध्यमाञ्चलसहित पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमश्चिमाञ्चल विकास क्षेत्र र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको सहभागिात रहेको छ । यसैगरी हिमगंगा रामेछाप, नमुनादिप युवा क्लब, लोकतान्त्रीक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज र शान्तीदिप युवा क्लब मन्थलीकोे सहभागिता रहेको छ । शनीबार सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक लाख ५० हजार तथा उपविजेता टोलीले एक लाख प्राप्त गर्ने छन् । यसैगरी तेस्रो हुने टोलीले ५० हजार तथा चौथो हुने टोलीले ३५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्बोत्कृष्ट घोषित हुने खेलाडीले १० हजार तथा उत्कृष्ट डिफेन्डर, ब्लकर, सेटर, स्पाइकर र सर्वरले पनि जनही पाँच/पाँच हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको बुधबार नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरेका थिए । सो अवसरमा सदस्य सचिव बिष्टले रामेछाप सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कभर्डहल बनाउन राखेपले सहयोग गर्ने बताएका छन् ।
उनले जिल्ला खेलकुद विकास समिति रामेछापलाई खेल हेर्न आउने दर्शकहरु बस्ने सुविधासम्पन्न कभर्डहल बनाउनको लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । उनले प्रस्ताव आएपछि छिट्टै प्राविधिक टोली पठाएर सुबिधा सम्पन्न कभर्ड हल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारी काम अघि बढाइने बताए ।