शिक्षा

कक्षा ८ को अक्षराङ्कन पद्धतिबारे पाठ्क्रम परिमार्जन हुने

काठमाडौँ । शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आजको बैठकमा डी प्लसभन्दा कम आउने विद्यार्थीको शैक्षिकस्तर कमजोर हुने भएकाले पाठ्यक्रममै सो प्रबन्ध गर्न छलफल गरेको हो ।
उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा सो विषयमा छलफल भएको र आगामी बैठकमा ठोस निर्णय गरिने मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा लागू भएको अक्षराङ्कन पद्धतिमा सी ग्रेडसम्म प्राप्त गर्ने विद्यार्थीले विषय हेरेर कक्षा ११ मा भर्ना पाउँछन् ।
उनले स्थानीय तहबाट वा परीक्षा नियन्त्रण कार्यालय कुन निकायबाट सो कक्षाको परीक्षा सञ्चालन गर्दा सान्दर्भिक हुन्छ भन्ने विषयमा पनि छलफल शुरु भएको बताए ।