स्वास्थ्य

ब्रेनट्युमर पीडित दीपाको उपचारमा सहयोग

खोटाङ । ऐँसेलुखर्क गाउँपालिका–२, बाकाचोलकी ब्रेन ट्युमर पीडित बालिका दीपा राईलाई रु ७८ हजार ४९५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यसअघि हङकङ निवासी शुभेच्छुकबाट एक लाख १४ हजार ४०० सहयोग प्राप्त भएकोमा ती १२ वर्षीया बालिकालाई पुनः उपचार खर्चस्वरुप सहयोग प्राप्त भएको हो ।

दीर्घायु गुरु अस्पताल, चाबहिलमा शल्यक्रिया गरिएकी बालिकालाई हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ दियाले घर भई हाल पोर्चुगलमा कार्यरत अनिल राईको पहलमा संकलन भएको रु ४५ हजार, हङकङमा रहेका मिठासरी राईको पहलमा संकलन भएको २२ हजार ८४५ रुपैयाँ प्राप्त भएको छ ।

यस्तै, ओखलढुङ्गा नारायणस्थान अँधेरी घर भई हाल कोरियामा रहेका युन्ना राईबाट रु १० हजार प्राप्त भएको ‘दीपा राई बचाउ अभियान’ले जनाएको छ ।

बिरामी परेपछि गत मंसिर ५ गते शीक्षण अस्पतालमा पु¥याएपछि दीपालाई ब्रेन ट्युमर भएको पुष्टि भएको बाबु वीरबहादुर राईले बताए । चार छोरीमध्ये घरकी जेठी छोरी दीपा जालपा मावि बादेलमा कक्षा ७ मा अध्ययनरत छिन् । अर्थ अभावमा भारत लैजान नसकिएपछि बालिकाको दीर्घायु गुरु अस्पताल चाबहिलमा पुस ८ गते शल्यक्रिया गरिएको थियो । आर्थिक अवस्था कमजोर रहेको राई परिवारमा दीपालाई ब्रेन ट्युमर भएपछि समस्या भएको छ ।