पर्यटन/संस्कृति

पर्यटन सम्बद्ध बाह्र संस्थाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

काठमाडौँ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालले १२ संस्थाका नवनिर्वाचित कार्यसमिति तथा नेपाल पर्यटन बोर्डका नवनियुक्त सञ्चालक समितिका सदस्यलाई सम्मान गरेको छ ।

संघले आज एक कार्यक्रम आयोजना गरी पछिल्लो छ महिनामा निर्वाचन भइआएका १२ संस्थाका कार्यसमिति तथा नेपाल पर्यटन बोर्डमा भर्खरै मनोनीत हुनुभएका तीन सञ्चालक समिति सदस्यलाई सम्मान गरेको हो ।

सम्मानित संस्थामा नेपाल पर्वतारोहण संघ (एनएमए) ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा), टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) पर्यटन पत्रकार संघ (जाट नेपाल)लगायतका रहेका छन् ।

यस्तै पर्यटन बोर्डमा भर्खरै मनोनीत पर्यटन व्यवसायी दीपक महत, कृष्णबहादुर महरा र अवधेश दासलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा गणेश गुरुङले पर्यटन क्षेत्रको विकासका लागि सबै संस्था मिल्नुको विकल्प नभएको बताए । “पर्यटन क्षेत्रको हक र अधिकारका लागि सबै संस्था एक हुनुपर्छ,” उनले भने ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले आफूहरु पर्यटन व्यवसायीको प्रतिनिधित्व गर्दै बोर्डको सदस्यमा नियुक्त भएको भन्दै पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

संघकी अध्यक्ष कमला गुरुङ, टानका अध्यक्ष नवराज दाहाल, नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईं लगायतले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए ।