समाचार

ऐन र अनुशासनको परिधिमा बस्न सचिवको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले ऐन, कानून र अनुशासनको परिधिमा रही जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

पर्यटन मन्त्रालयमा आफ्नो स्वागत तथा सोही मन्त्रालयबाट अन्यत्र सरुवा हुनुभएका सचिव महेश्वर न्यौपानेको बिदाइ कार्यक्रममा उनले इमान्दारपूर्वक मन्त्रालय र मातहतका काम कारबाहीलाई चुस्त तथा प्रभावकारी बनाउन आग्रह गरे ।

सचिव देवकोटाले कानूनी राज्यभन्दा माथि कोही व्यक्ति नहुने भन्दै कसैको दबाब र प्रभावमा नपरी जिम्मेवार भएर कार्यसम्पादन गर्न आग्रह गरे। आफू कर्मचारीको सम्बन्धलाई सुमधुर तुल्याएर सेवा प्रवाहलाई परिणाममुखी बनाउन लागि पर्ने भन्दै उनले गल्ती गर्नेलाई कुनै छुट नदिने बताए ।

सचिव महेश्वर न्यौपानेले आन्तरिक निर्णय प्रक्रियामा पनि सचिव र सहसचिवबीच समन्वयको अभाव खड्किएको गुनासो पोखे । सचिव न्यौपानेले मन्त्रालय मातहत राष्ट्रिय गौरवका पाँच आयोजना रहेका र तीमध्ये अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई थप प्रभावकारी ढंगले अघि बढाइनुपर्ने खाँचो औँल्याए ।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले सचिवको निर्देशनको पूर्ण पालना गर्दै अनुशासित रुपमा कर्मचारीका तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए ।