अन्तर्राष्ट्रिय

यमनको एडेनमा सरकारी सेना र विद्रोहीबीच व्यापक झडप

एडेन, यमन । यमनको बन्दरगाह शहरमा सरकारी सेना र दक्षिणी सङ्क्रमणकालिन परिषद् सम्बद्ध शक्तिबीच आइतबार ब्यापक सैन्य झडप हुँदा दुवैपक्षका गरी कैयौँ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

साउदी अरबको समर्थन प्राप्त यमनी सरकारको एडेनमा रहेको सहयोगी समूह र विद्रोहीबीच भएका झडपमा मारिएका व्यक्तिको सङ्ख्या प्रष्ट नभएपनि दर्जनौँ मानिसको मृत्यु भएको स्थानीय नागरिकले सिन्ह्वालाई बताए । घटनामा केही नागरिक घाइते भएका बताइएको छ ।

विद्रोहीले आह्वान गरेको ‘शान्तिपूर्ण प्रदर्शन’मा रोक लगाउन सरकारले गरेको कडा निर्देशनलाई पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच खोरमास्कर क्षेत्रमा झडप भएका हो ।

घण्टौँ लामो शसस्त्र झडपपछि यमनी सेनाको शिविरलाई विद्रोही लडाकूले कब्जा गरेको प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताए ।

सिन्ह्वा न्यूज एजेन्सीका एडेनस्थित समाचारदाताले दुवैपक्षले यहाँका मुख्य सडकहरूमा व्यापक विष्फोट गराइएको तथा तथा गोली चलाइएको सुनिएको बताए ।

दुबैपक्षका कैँयौँ सेना उपचारका लागि अस्पताल ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।

साउदी नेतृत्वको सेनाले घटनास्थलमाथि हवाई सेनालाई पठाएको तर सेनाले हवाई आक्रमण भने नगरेको स्थानीयले बताएका छन् । यसबारे अन्य बिस्तृत विवरण भने समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन ।

दक्षिणी बन्दरगाह शहरलाई यमनको अस्थायी राजधानीका रूपमा सन् २०१५ देखि साउदी अरब गठबन्धन सेनाको सहयोगप्राप्त यमनी सरकारले सञ्चालन गर्दै आएको स्थान हो ।