शिक्षा

स्नातकोत्तर तहको पढाइ, काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य

बाबियाचौर, म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पठनपाठन शुरु भएको छ ।

समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन शुरु गरेको हो । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा पहिलो वर्ष व्यवस्थापन संकायको कक्षा सञ्चालन गर्न अनुमति दिएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए ।

यसअघि म्याग्दीका विद्यार्थी स्नातकोत्तर तहको अध्ययनका लागि बागलुङ, पोखरा, चितवन र काठमाडौँ जानुपर्ने बाध्यता थियो । म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पढाइ शुरु भएपछि म्याग्दीका साथै पर्वतको उत्तरी क्षेत्र र मुस्ताङका विद्यार्थीसमेत लाभान्वित हुने भएका छन् ।

स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि २०७३ कात्तिकमा महायज्ञ आयोजना गरेर रु दुई करोडभन्दा बढी आर्थिक स्रोत जुटाइएको थियो । २०४८ सालदेखि सञ्चालित क्याम्पसमा हालसम्म मानविकी, व्यवस्थापन र शिक्षा संकायमा कक्षा ११, १२ र स्नातक तहको पठनपाठन हुँदै आएको थियो । क्याम्पसमा एक हजारजना विद्यार्थी अध्ययनरत छन् ।