आर्थिक

धितोपत्र बजारः एक अर्ब ७३ करोड कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज(नेप्से)काअनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए ।

कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ८६ अंकले बढेर अन्तिम दिन एक हजार ४०४ दशमलव ५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १६ करोड सात लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको छ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।