अन्तर्राष्ट्रिय

गणतन्त्र दिवसमा ६० हजार भन्दा बढी भारतीय सैनिकको परेड

नयाँदिल्ली । भारतमा ६९औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार भारतीय सैनिकहरूले भव्य परेड प्रदर्शन गरेका छन् । केन्द्रीय राजधानी नयाँदिल्लीमा बिहान परेड प्रदर्शन गर्ने बेलामा शहरभरी उल्लेख्य मात्रामा सुरक्षा व्यवस्था गरिएको थियो ।

सुरक्षा चुनौतीका कारण झण्डै ६० हजार सुरक्षाकर्मी, केही सैन्य विमान र अन्य सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो ।

राजधानी दिल्लीको राजपथमा भारतीय सैनिकका विभिन्न सीप, क्षमता, ट्यांकर, बन्दुहरू, आधुनिक हातहतियारहरूलगायत प्रदर्शन गरिएको थियो ।

समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई सैन्य सलामी चढाइएको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीसहित आशियनका दश मुलुकका शीर्ष नेता पनि सहभागी भएका थिए ।
कार्यक्रममा देशका विभिन्न झाँकी र कला संस्कृति, वेषभूषाहरू पनि प्रदर्शन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सो अवसरमा राष्ट्रियस्तरका विभिन्न पुरस्कार र सम्मानहरू पनि प्रदान गरिएको छ ।