आर्थिक

बजेट निकासा गर्ने वातावरण मिलाउन महासंघको आग्रह

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सडक विभागअन्तर्गत निर्माण सम्पन्न भएका कामको बजेट चाँडो निकासा गर्ने वातावरण मिलाउन आग्रह गरेको छ ।

महासंघको एक टोलीले आज सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई भेटेर काम गरेको बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरेको छ ।

व्यवसायीले पाउनुपर्ने झण्डै रु ३० अर्ब रकम विभागबाट भुक्तानी नभएको भन्दै महासंघले भुक्तानीको व्यवस्थाका लागि पहल गने महानिर्देशक सिग्देललाई आग्रह गरेका हुन् । महासंघले नुवाकोट डिभिजन सडक कार्यालयबाट झण्डै रु ५४ करोड, काठमाडौँ महानगरपालिकाअन्तर्गत विस्तारित सडक निर्माणवापत झण्डै रु ७५ करोड लिन बाँकी रहेको जनाएको छ ।

भेटपछि विभागका महानिर्देशक सिग्देलले रकम दिलाउनका लागि आफूले सम्बन्धित पक्षसँग छलफल गरिरहेको र चाँडो दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सिग्देलको भनाइ उद्धृत गर्दै भेटमा सहभागी महासंघका महासचिव रामशरण देउजाले जानकारी दिए ।