राजनीति

संघीयताको सफल कार्यान्वयन अबको प्राथमिकता

पोखरा । प्रमुख राजनीतिक दलका नेताहरूले संघीयताको सफल कार्यान्वयन र राजनीतिक संक्रमणकालको अन्त्य अबको प्राथमिकता भएको बताएका छन् ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा दलका तर्फबाट उम्मेदवारी दर्ता गर्न बुधबार प्रदेश नं ४ को पोखरास्थित निर्वाचन कार्यालयमा पुगेका नेताहरूले निर्वाचनसँगै देश संविधानको कार्यान्वयन तर्फ अघि बढिसकेको बताए
नेकपा (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार गणेश तिमल्सिनाले संविधानले परिकल्पना गरेअनुसारको संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्दै देशलाई समृद्धिको मार्गमा अघि बढाउनु अबको आवश्यकता भएको बताए ।

“सबै नेपाली आफू समृद्ध भएको हेर्न चाहन्छन्,”–उनले भने,, “जनचाहनाअनुसार देशमा विधिको शासन कायम गर्दै समृद्धि र विकासका योजनालाई अघि बढाउनु अपरिहार्य छ ।”

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डेले नेपालको राजनीतिक परिवर्तनका साथै संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको काँग्रेसले यसको सफल कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

“अबको संसद्मा काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ”–उनले भने, “संघीयताको सफल कार्यान्वयनका साथै जनताका विकास र समृद्धिका अपेक्षालाई पूरा गराउने विषयमा हामी जिम्मेवार भएर लाग्नेछौँ ।”

नेकपा (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रियसभा सदस्य उम्मेदवार दीनानाथ शर्माले संघीयताको कार्यान्वयन र राजनीतिक संक्रमणकालको अन्त्य गर्ने जिम्मेवारीलाई पूरा गर्नु अहिलेको आवश्यकता भएकोमा जोड दिए ।
नेपालको राजनीतिक परिवर्तनमा भएको १२ बुँदे समझदारीयता बढेको दलहरूबीचको सहकार्यको संस्कृतिलाई आगामी दिनमा पनि कायम गराउँदै देश र जनताको हितमा लाग्न प्रयत्नशील रहने उनले उल्लेख गरे ।