आर्थिक

अन्तर्राष्ट्रिय व्यापार फागुन अन्तिम साता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी फागुन २४ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि आजैबाट व्यापारिक कक्ष ‘बुकिङ’ खुला गरिएको महासंघले जनाएको छ । वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवर्धनमा र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेण्डर इभेन्टका रूपमा उक्त मेला आयोजना हुन लागेको हो ।

कूल ३०० भन्दा बढी व्यापारिक कक्षमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा नेपालसहित सार्क मुलुकहरु, चीन, थाइल्याण्ड, मलेसियालगायतका देशहरूको सहभागिता रहनेछ ।

सो मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलामा स्वदेशी र विदेशी गरी करिब दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।